कञ्चनपुर । भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेको छ ।
१०/१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्न प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गर्दै सुचना जारी गरेको छ ।
हात्तीको झुण्ड बस्तीमा प्रवेश गरे नजिकको निकुञ्जको पोष्ट, सुरक्षा पोष्ट र सुरक्षा निकायमा जानकारी गराउने, आफू सुरक्षित रहने गरी मात्र हात्तीलाई धपाउने कार्य गर्नुपर्ने निकुञ्ज कार्यालय प्रमुख लक्ष्मण पौड्यालले जानकारी दिए ।
हात्ती धपाउँदा एक्लै नहिँडी समूहमा मात्र हिँड्ने, मदिरा सेवन गरी हात्ती धपाउन नजाने, हात्तीको नजिक नजाने, ठूलो टर्च वा आगोको मसाल प्रयोग गर्ने, घर बाहिर बिजुली बालेर उज्यालो गर्ने र हात्ती आउने गौडामा आगो बाल्नेलगायतका कार्य गर्नुपर्ने पौड्यालको सुझाव छ ।
दुधुवा नेशनल पार्कमा वर्षाको पानी र बाढीको पानी भरिन थालेपछि आहारा सुरक्षित बासस्थानका लागि जङ्गली हात्तीको झुण्ड हरेक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आउने गरेको छ ।
जङ्गली हात्तीको झुण्डले भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिका क्षेत्रमा बढी बालीनालीमा क्षति पुर्याउने गरेको छ । हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाले ज्यानसमेत गुमाउने गरेका छन् । जङ्गली हात्तीलाई बस्तीमा छिर्नबाट रोक्नका लागि मेसवायर जडानको कार्यलाई समेत प्रदेश र स्थानीय तहले प्राथमिकतामा राखी कार्य अगाडि बढाउँदै आएका छन् ।