एनभिएसए हिकाष्टको बजेटसम्बन्धी विज्ञको छलफल सम्पन्न

काठमाडौँ । नेपाल भेटेरिनरी स्टुडेन्ट एशोसिएसन (हिकाष्ट)द्वारा आगामी वर्षको कृषि बजेटमा अनुदान तथा ऋणसम्बन्धी अनलाइन छलफल सम्पन्न गरेको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठको प्रमुख आतिथ्यमामा भएको कार्यक्रमका प्रमुख वक्ता कृषि अभियन्ता तथा सामाजिक विश्लेषक मदन प्रभात रहनुभएको थियो । पशुपालन एवम् कृषि लाई कागजमा मात्र नभई यथार्थमा पनि अगाडि बढाउनु पर्ने कुरामा वक्ताहरूले जोड दिएका थिए ।

पुरानै बजेटलाई निरन्तरता दिएकाले बजेटले कृषि विकासमा सहयोग नपुग्ने भन्दै अधिकांश वक्ताहरूले बजेटको खुलेर विरोध गरेका थिए ।

देशमा कृषि तथा पशुपालनलाई अगाडि बढाउन स्थानीय तहहरूमा प्राविधिकहरू हुनुपर्ने, बिमाको कार्य क्षेत्र बढाउनुपर्ने, संघीय सरकारले निस्वार्थ रूपमा आफ्नो भूमिका निर्वाह आवश्यक भएको विषयमा समेत वक्ताहरूले जोड दिएका थिए ।

बजारमा बिचौलियाको न्यूनिकरण गरेर किसानसम्म बजारको पहुँच पुर्याउनुपर्ने, पशुपन्छीको उपचारको लागि सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने समेत आवाज उठेको थियो । बजारको कमी हुनु, श्रोतको विकास नहुनु, जस्ता कारणले पनि कृषि क्षेत्रको विकासका लागि बाधक रहेको छ ।

बजेट भाषणमा कृषिक्षेत्रलाई ४१ अर्ब ४० लाख बजेट घोषणा गरिएकोमा रातो पुस्तकमा भने ३७ अर्ब ४० लाख मात्र कृषि मन्त्रालयलाई बिनियोजन गरिएको कार्यक्रमका प्रमुख अतिथि डा. शीतलकाजी श्रेष्ठले बताउनु भयाे ।

उक्त अनलाइन कार्यक्रमको संयोजन अविनाश ठाकुरले गरेका थिए । एनभिएसए (हिकाष्ट)का अध्यक्ष निश्चल घिमिरेले समापन समारोहलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमहरूले समग्र क्षेत्रमा सकारात्मक टेवा दिने बताएका थिए ।