भेटेरिनरीका प्रतिबन्धित औषधि आयातको सूचना पाए तुरुन्त एक्सन लिन्छौं

नारायण प्रसाद ढकाल महानिर्देशक औषधि व्यवस्था विभाग

प्रचलित औषधि ऐन २०३५ को परिमार्जन गरी पशुपन्छीसम्बन्धी औषधिको नियमनलाई प्रभावकारी बनाउने तयारी औषधि व्यवस्था विभागले गरिरहेको उक्त ऐन निर्माणको काम कसरी अघि बढिरहेको छ ?

सबैखाले औषधिको नियमनलाई प्रभावकारी बनाउन औषधि ऐन २०३५ को परिमार्जन गर्ने तयारी भएको हो । पशुपन्छीको औषधिको नियमनका विषयमा पशु सेवा विभागले विभिन्न सुझाव दिएको छ । अन्य निकायले पनि आआफ्नो क्षेत्रबाट सुझाव दिइरहेका छन् । तीसबै सुझावलाई समेटेर कानुन निर्माण गर्ने तयारी हामीले गरिरहेका छौं । अब ३ महिनाभित्रमा कानुन निर्माण हुने अपेक्षा हामीले गरेका छौं ।संसदको हिउँदे अधिवेशन सकिएर वर्षे अघिवेशन सुरु भएपछि औषधि ऐन संसदबाट पास गराउन मन्त्रालयले प्रस्ताव लाने तयारी छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा ऐन निर्माणको काम सकेर नियमावली निर्माणलाई अघि बढाउने हामीले तयारी गरेका छौं ।

पशुपन्छीसम्बन्धी ऐन परिमार्जन भएपछि पशुपन्छी औषधिको नियमन गर्न औषधी व्यवस्था विभाग अन्तर्गत नै छुट्टै संरचना बनाउन लागिएको हो कि ?

अहिले पनि पशुपन्छी औषधिको नियमन औषधी व्यवस्था विभागले नै गरिरहेको छ । तर,अहिले जनशक्ति र संरचनागत रुपमा साँघुरो भयो भन्ने उहाँहरुको तर्क छ । पशुपन्छीको औषधिको मापदण्डलगायत सबै विषय अहिले प्रमुखता पाएन भन्ने कुरा छ । त्यसो हुँदा त्यस्तो विषयहरु स्पष्ट पार्ने, प्रमुखता दिने र जनशक्ति तथा दायरा अलि फराकिलो हुने गरी अघि बढाउने भनिएको छ । पशु सेवा विभागका महानिर्देशक पनि उक्त कानुनको मस्यौदा निर्माणसम्बन्धी समितिमा रहेर काम गर्ने व्यवस्था गरिएकोले पशुपन्छी औषधि ऐन अझ राम्रो भएर आउने छ ।

आजकै दिनमा पनि नेपालमा प्रतिवन्धित एन्टिबायोटिक भेटेरिनरी औषधि आयात गरेर दानामा मिसाउने काम भइरहेको पाइएको छ । यस्तो अवैध कार्यलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ ?

कसैले त्यस्ता प्रतिबन्धित औषधि ल्यायो भन्ने विषयमा हामीलाई सूचना दिए हामी तुरुन्त एक्सन लिनसक्ने थियौं । तर, त्यसरी कसैले पनि सूचना दिएको छैन । उजुरी दिएको पनि छैन । अनुमति के लिएको हो र के चिज ल्याएको हो भन्ने कुरा स्पष्ट कहिँकतैबाट थाहा हुनसके त्यस्तो मान्छे खोजी गरेर हामीले कारवाही गर्छौं । पशुसेवा विभागका महानिर्देशक ज्युसँग पनि मेरो यस विषयमा कुरा भएको थियो । तर, उहाँले कसैलाई पनि त्यस्तो एन्टिवायोटिक ल्याउन अनुमति नदिएको बताउनु भएको छ । कसैले ¥यापिङ वा लेबल हटाएर दानाकै कच्चा पदार्थभित्र मिसाएर पनि ल्याएका छन् त्यो काउन्टर फिटिङ हो । त्यो नक्कली औषधिको विषय हो । कसैले त्यसो गरेको छ भने पनि कुनै प्रमाण भए हामी कानुनअनुसार कारवाही गर्छौं ।

अवैध रुपमा दर्ता नै नभई भेटेरिनरी औषधि पसल सञ्चालन भइरहेका पनि छन् । त्यसो हुँदा त्यस्ता अवैध पसललाई कारवाही वा नियमनको दायरामा कसरी ल्याउन सकिन्छ ?

तोकिएको मापदण्ड अनुसार नचलेका फार्मेसी वा भेट फर्माहरुलाई हामीले कारवाही गर्नै पर्छ । नक्कली कागजातका आधारमा चलाउने र दर्ता नै नगरी चलाउनेलाई पनि कारवाही गरिन्छ । अवैध रुपमा चलेका औषधि पसलका कारण वैध तरिकाले चलेकालाई पनि समस्या प¥यो भन्ने गुनासो रहँदै आएको छ । यो जायज पनि हो । केही पहिला विभागले अनुगमन सक्रिय रुपमा अघि बढाएको थियो । तर, अहिले केही फितोलो भएको हो कि भन्ने पनि छ । त्यसो हुँदा अवैधमाथिको निगरानी अझ सक्रियताका साथ अघि बढाउने छौं । गैरकानुनी तरिकाले चलेकाहरुलाई कारवाहीको दायरामा ल्याएरै छाड्डौं ।

अन्त्यमा भेटेरिनरी औषधि व्यवसायी,भेटेरिनरी चिकित्सकहरुलाई यहाँ के भन्न चाहनुहुन्छ ?

उपलब्ध औषधिहरु प्रयोग गर्न सिफारिस गर्नुस् । दर्ता नभएको अवैध औषधिहरु आयात तथा सिफारिस नै नगर्नुस् । सिफारिस गर्नुपर्ने, नभइ नहुने नयाँ खालका औषधिहरु दर्ता छैनन् भने ती औषधि चाहिने स्पष्ट आधार खुलाएर औषधि व्यवस्था विभागसँग उपलब्ध गराउन माग गर्नुहोस् । त्यसका लागि विभागले सहजीकरण गर्दै आएको छ । आगामी दिनमा पनि गर्ने छ । औषधि व्यवसायी, भेटेरिनरी चिकित्सक, प्राविधिक, किसान सबै मिलेर नै नेपालमा पशुपन्छी औषधिको आपूर्ति र प्रयोगलाई व्यवस्थित, मर्यादित बनाउन सकिन्छ । त्यसमा जोड दिनुहोस् भन्ने मेरो आग्रह छ ।