वर्तमान कार्यसमितिलेले चुनौतीपूर्ण एजेन्डामा काम गरेको छ

यज्ञराज ढकाल
केन्द्रीय महासचिव, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ (उपाध्यक्षका प्रत्यासी)

आसन्न १२ औँ महाधिवेसनबाट यहाँको २ वर्षे कार्यकाल सकिँदै छ । वर्तमान कार्यकालमा भएका कामको समीक्षा कसरी गर्नुहुन्छ ?

समग्रमा भन्नुपर्दा वर्तमान कार्यकाल चुनौतीपूर्ण नै रह्यो । हाम्रो अध्यक्षले एउटै एजेन्डा लिएर कार्यसमितिमा आउनुभएको थियो । के के भने आयात, थोक र खुद्रा ३ तहका व्यावसायीले एक अर्काको भूमिकामाथि हस्तक्षेप नगर्ने । अर्थात् आयात गर्नेले आयात मात्र । थोक विक्रेताले थोक विक्री मात्रै गर्ने र खुद्रा विक्रेताले खुद्रा मात्रै विक्री गर्ने । यो एजेन्डा पूरा गर्न मसहित सिंगो कार्यसमितिले उहाँलाई साथ पनि दियो । यसै एजेण्डा कार्यान्वयनमा लान पोखरा र बुटवलमा व्यवसायीको भेला गरियो । निर्देशिका बनाएर कार्यान्वयनका लागि प्रदेशहरूमा पनि पठाइयो । कार्यान्वयनमा पनि आयो । तर, यो नीतिको कार्यान्वयन मूर्तरूपमा निर्मूल नै हुन सकेको त छैन । तर, आयात गर्ने व्यवसायी साथीहरूले खुद्रा काउन्टर राखेर औषधी विक्री गर्ने परिपाटीको त अन्त्य नै भइसकेको छ । जस्तो त्रिपुरेश्वर क्षेत्रको सडक छेउमा काउन्टर राखेर खुद्रा काउन्टरसमेत राख्दै आउनुभएका आयातकर्ताहरू त्यहाँबाट बाहिर सरिसक्नुभएको छ । र, अब आयात गर्नेले वर्तमान कार्यसमितिलेले चुनौतीपूर्ण एजेन्डामा काम गरेको छ । खुद्रा काउन्टर राख्नु हुँदैन भन्ने अवधारणा पूर्णतया कार्यान्वयनमै आइसकेको छ । त्यस्तै हामीले औषधी विभागसँग शहरी क्षेत्रमा नदिए पनि बाहिर अर्थात् ग्रामीण क्षेत्रमा पसल दर्ता गर्न दिनुपर्छ भन्ने माग गरेका थियौँ । औषधी सल्लाहकार समितिले प्रष्ट रूपमा औषधी व्यवस्था विभागलाई प्रष्ट रूपमा ग्रामीण भेगमा पसल दर्ता गर्न दिनु भनेर भनेको छ । अर्को कुरा एउटा मान्छे १२ घण्टासम्म पसलमा खट्न सक्दैन । त्यसो हुँदा वैकल्पिक व्यवसायी चाहिन्छ भन्ने माग स्पष्टसँग राखेका छौँ । ढिलो चाँडो यो माग पनि पूरा हुने हाम्रो विश्वास छ ।

निर्वाचनका बेला यहाँहरूले एकजुट भएर अघि बढ्ने भनिए पनि यहाँहरूको एउटा पक्ष र अध्यक्षको अर्को पक्षजस्तो देखिएको थियो । त्यसले कार्यसमितिको काममा बाधा परेन ?

निर्वाचनका दौरान हामीबीच प्रतिस्पर्धाजस्तो देखिए पनि कार्यसमितिमा आइसकेपछि व्यक्ति नभएर सफलता र असफलताको जस/अपजस कार्यसमितिलाई नै जाने भएकोले हामीले एक ढिक्का भएर काम गर्यौं । यसमा कसैलाई समस्या भएन । हामीबीच कुनै मनमुटाव वा कुनै असहज अवस्था बनेन । यो अध्यक्षज्युले पनि महसुस गर्नुभएकोकुरा हो । र, व्यक्त पनि गरिसक्नु भएको छ ।

अब अर्को कार्यकालका लागि यहाँले कुन पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ ? अबको कार्यकालमा म आयाततर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिन लागिरह ेको छु ।

आयाततर्फका समस्या के कस्ता भएको महसुस गर्नुभएको छ ?

आयातकर्ता व्यवसायीको प्रमुख समस्या भनेको सिफारिसको अवधि रहेको छ । औषधी व्यवस्था विभागले मानवको औषधी आयातमा २ वर्षका लागि सिफारिस दिन्छ । तर, पशु सेवा विभागले पशुपन्छीको औषधी आयातका लागि ४ महिनाको मात्रै सिफारिस दिन्छ । अन्तर्राष्ट्रिय प्रचलनमा ४ महिनाजस्तो छोटो अवधिको सिफारिस कतै पनि दिँदैन । त्यसैले हामीले यो अवधि बढाएर कम्तीमा एक वर्षका लागि दिनुपर्ने माग गरेका छौँ । अझ एक वर्षभन्दा पनि यो अवधि बढी हुनुपर्ने देखिएको छ । अर्को कुरा हाल खोपजन्य औषधीको हाहाकार छ । हाम्रा साथीहरू पनि यसबाट पीडित हुनुहुन्छ । किसान र प्राविधिक साथीहरू पनि पीडित हुनुहुन्छ । हामीले यो विषयलाई औषधी व्यवस्था विभागसँग पटक पटक राख्दै आएका छौँ । र, विभागले पनि यो विषयलाई सम्बोधन गर्न नेपाली औषधी उद्योगहरू पनि औषधी उत्पादन र आपूर्तिका लागि योग्य भएर दर्ताको प्रक्रियामा अघि बढेका छन् । भन्सारमा पनि एमआरपीका आधारमा अनावश्यक भन्सार महसुल लगाइरहेका छन् । अहिले एउटा कम्पनीले मार्केटिङमा जति खर्च गरिरहेको छ, आयातकर्ताले पनि मार्केटिङमा उत्तिकै खर्च गरिरहेको छ । कर्मचारीको तलब, स्टकिस्टलाई दिनुपर्ने कमिसन, छुट, रिटेलरलाई दिनुपर्ने कमिसन, छुट र प्रवद्र्धनात्मक गतिविधि गर्दा ठूलो खर्च आएको छ । यसलाई पनि कसरी हुन्छ सम्बोधन गर्नुपर्ने अवस्था छ ।

उपाध्यक्षमा अन्य प्रतिपर्धीले पनि यस्तै समस्या समाधान गर्ने विषयलाई एजेन्डा बनाएर प्रतिस्पर्धामा आउलान् । यहाँको फरक एजेन्डा वा प्रतिबद्धता कस्तो हुन्छ त ?

एउटा भनाइ छ– ‘विनर्स डन्ट डु डिफ्रेन्ट थिङ्स, दे डु थिङ्स डिफ्रेन्ट’ । अर्थात् नेता वा विजेताले कुनै फरक काम गर्दैन, उसले फरक तरिकाले काम गर्छ । यही विश्वव्यापी र सर्वमान्य सिद्धान्तलाई आत्मसात गर्दै म अगाडि बढाउने छु । मेरो पनि माथिका समस्याभन्दा फरक समस्या समाधान गर्ने प्रतिबद्धता छैन ।

अन्त्यमा, आसन्न विराटनगर महाधिवेसनमा उपस्थित हुनुहुने व्यवसायी प्रतिनिधिहरूलाई यहाँको सन्देश के छ ?

प्रतिनिधि छान्दा वा नेता छान्दा विगददेखि वर्तमानसम्म उसले खेलेको भूमिका, उसको योग्यता, क्षमता सबै आधारको मूल्यांकन गरेर सक्षम नेतृत्व छान्नुहोस् भन्ने आग्रह गर्दछु ।