पशुपन्छी व्यवसायीका नेताले आयात गरेको भिटामिनमा ९१ प्रतिशत पानी

राजन प्रसाँई
काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय सल्लाहकार तथा आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी पूर्णचन्द्र सापकोटा स्वामित्वको भेटेरिनरी मेडिसिन सेन्टर प्रालिले आयात गरेर बिक्री वितरण गर्दै आइरहेको भिटामिनमा ९१ प्रतिशत पानी भेटिएको छ ।

भारतको इन्डियन ड्रग्स एण्ड भिटामिनले २१ अगस्ट २०२१ मा उत्पादन गरेर ३६ महिना उपभोग्य अवधि तोकेको ‘इण्डोफोर्ट ए’ भिटामिनमा ९१ प्रतिशत पानी र ९ प्रतिशत मात्र तोकिएको तत्त्व भेटिएको हो ।

ब्याच नं. २१०८ उल्लेख गरेर बजार बिक्री–वितरण भइरहेको भिटामिनको नमुना संकलन गरेर राजधानीको जेष्ठ ल्यावरोटरिज एण्ड रिसर्च सेन्टरमा परीक्षण गरिएको थियो । नतिजामा १ लाख आइयूमा नौ हजार मात्र भेटिएको हो (हेर्नुहोस् रिपोर्ट) ।

आयातकर्ताकै नियत खराब
भेट टाइम्स र भेटखबर डटकमले पशुपन्छीजन्य औषधि र फिड सप्लिमेन्टको गुणस्तरबारे निरन्तर खुलासा गर्दै आइरहेको छ । अघिल्ला घटनाहरूमा आयातकर्ता कम र भारतीय कम्पनी बढी दोषी देखिएका थिए । यो प्रकरणमा भने भारतीय कम्पनीसँग मिलेमाोतो गरेर नेपाली व्यावसायीले नै किसान ठगेको पाइएको छ ।

‘पोल्ट्री हब’ मानिने चितवनकेन्द्रित व्यवसायी सापकोटा पशुपन्छी व्यवसायीका नेतासमेत हुन् । पशुपन्छीको औषधि तथा फिड सप्लिमेन्टको गुणस्तर कायम गर्ने दायित्व उनको पनि हो । तर अनौठो के भने उनले आफूले बिक्री गरिरहेको भिटामिनको गुणस्तर किसानले परीक्षण गर्ने तयारी गरेपछि नमुना नदिन सर्कुलर नै गरेको भेटिएको छ । स्रोतका अनुसार, उनले बजारबाट गुणस्तरहीन भिटामिन फिर्ता नै गरेका थिए । तथापि, सापकोटाले बिक्री वितरण गर्दै आएको भिटामिन भेट टाइम्स चितवन प्रतिनिधिले उनकै पसल नारायणी भेटबाट खरिद गरेका थिए ।

उत्पादनको व्याच नं., बिक्री मूल्य राखेर बजारमा पठाउनुपर्नेमा सापकोटाले सो उल्लेख नगरेको पाइएको छ । प्रतिष्ठित व्यावसायीहरूको ठूलो लगानी रहेको यस समूहका अध्यक्ष सापकोटासंग भेट खबरले जिज्ञासा राखेको थियो । उनले सिधै कमजोरी स्वीकार नगरे पनि घुमाउरो भाषामा आफूले आयात गरेर बिक्री गर्दै आइरहेको भिटामिन गुणस्तरहीन रहेको स्वीकार गरे । उनले भने, ‘तपाईंले भन्नु भएको कुरा हुँदै होइन भनेर मैले भन्दिनँ । हुन पनि सक्छ ।’ भिटामिनको गुणस्तरबारे बजारमा प्रश्न उठेपछि आफूले आयात गरेर बिक्री वितरण गर्दै आएको भिटामिन बजारबाट फिर्ता गरेको उनले बताए । तर गुणस्तरहीन भएर भन्दा पनि बजारमा प्रश्न उठेकाले फिर्ता गरेको उनको भनाइ छ ।

उनले भने, ‘बजारमा भिटामिनबारे प्रश्न उठेकाले हामीले पनि परीक्षण गरिरहेका छौं । त्यसको रिपोर्ट नआउन्जेलसम्मका बजारमा बिक्री वितरण गर्न रोक लगाएका हौं ।’

बजार बिक्री विरण भइरहेको उत्पादनमा एमआरपी उल्लेख नभएबारे जिज्ञासा राख्दा त्यस्तो हुन नपर्ने भन्दै निरीहता प्रकट गरे । ‘एकाध पटकका आयातमा भन्सारका जटिलताले गर्दा एमआरपी नभएको हुनसक्छ । तर म एक व्यवसायी भएको कारणले एमआरपी हुनै पर्छ भन्छु,’ उनले भने । उनले आफू एक्लैले आयात नगरी एउटा समूह नै आबद्ध रहेकाले एक जनालाई मात्र नजोड्न आग्रह पनि गरे । ‘हेर्नुहोस्, यो म एक्लैले नभई सामूहिक रूपमा गरेको काम हो ।साथीहरू पनि हुनुहुन्छ । म अध्यक्ष मात्र हो । मलाई सबै कुरा जानकारी हुँदैन,’ जिम्मेवारीबाट पन्छिँदै उनले भने ।

(हेर्नुहोस् परिक्षणको प्रकृया समेतको रिपोर्ट)